जिल्ला न्यायाधीशका लिखित परीक्षामा एक जना मात्रै पास

71

काठमाडौं । यस पटकको जिल्ला न्यायाधीशका लिखित परीक्षामा एक जना मात्रै पास भएका छन्।

साउन १६ गतेदेखि २० गतेसम्म लोकसेवा आयोगमार्फत न्याय सेवा आयोगले लिएको परीक्षामा २११ जना सहभागी भए पनि उपसचिव पारसमणि पोखरेलले मात्रै उत्तीण गरेका हुन्।

आयोगले आइतबार सार्वजनिक गरेको नजिताअनुसार हाल भक्तपुर जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत पोखरेलले आन्तरिक खुला र खुला दुवैतर्फको परीक्षा पास गरेका हुन्। उनलाई असोज १ गते अन्तर्वार्तामा सहभागी हुन आयोगले सूचित गरेको छ।

२९ पदका लागि भएको जिल्ला न्यायाधीशको परीक्षामा सहभागी २१० जना फेल भएका छन्।

२०७२ सालमा नेपालको संविधान जारी भएपछि प्रतिस्पर्धाबाट जिल्लामा न्यायाधीश नियुक्ति सुरु भएको थियो। अहिलेसम्म भएका परीक्षामा खुलातर्फबाट एक जना पनि पास भएका छैनन् भने आन्तरिक खुलातर्फ पास हुनेको संख्या पनि ज्यादै न्यून छ।

यसवर्ष न्याय सेवा आयोगले आन्तरिक खुलाका लागि १५, खुलाका लागि ७, महिला २, आदिवासी÷जनजाती २, मधेसी २ र दलित एक पदका लागि दरखास्त आह्वान गरेको थियो।

संविधानअनुसार जिल्ला न्यायाधीशको पदपूर्ति गर्दा २० प्रतिशत ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा न्याय सेवाका उपसचिवहरुबाट गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै ४० प्रतिशत तीन वर्ष न्याय सेवाको उपसचिवका रुपमा काम गरेकाहरुबाट आन्तरिक खुला प्रतिस्पर्धा र बाँकी ४० प्रतिशत खुला लिने व्यवस्था छ। खुलाबाट जिल्ला न्यायाधीशमा प्रतिस्पर्धा गर्न अधिवक्ताको रुपमा कम्तिमा आठ वर्ष निरन्तर काम गरेको हुनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here