भारतका तीन राज्यमा विधान सभाको मतगणना जारी

46

एजेन्सी । भारतका तीन पूर्वोत्तर राज्य त्रिपुरा, नागाल्यान्ड र मेघालयमा बिहीबार विधान सभाको मतगणना जारी छ।

ती राज्यहरूमा गत महिना भएका मतदानको मतगणना बिहीबार बिहानदेखि थालिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

प्रारम्भिक नतिजाअनुसार यी तीनमध्ये त्रिपुरामा भारतीय जनता पार्टी अघिल्लो चुनावमा पाएको बहुमत जोगाउन संघर्ष गरिरहेको छ, बाँकी दुई राज्यमा भने भाजपा सम्मिलित गठबन्धनले बहुमत ल्याउने देखिएको छ।

यी तीनै राज्यका विधान सभामा ६० सिट छन् भने बहुमत पुर्‍याउन ३१ सिट जित्नुपर्छ।

त्रिपुरा

त्रिपुरामा सन् २०१८ मा  वाम दलहरूको गठबन्धनको  २५ वर्षीय शासन तोड्दै भाजपाले सत्ता लिएको थियो।

त्यतिबेला भाजपा एक्लैले ६० मध्ये ३५ सिटमा जित हात पारेको थियो।

टाइम्स अफ इन्डियाका अनुसार यसपालिको चुनावमा पनि भाजपाले बहुमत जोगाउन हम्मेहम्मे देखिएको छ। अहिलेसम्म २७ स्थानमा भाजपा उम्मेदवारले अग्रता लिइरहेका छन्।  कम्युनिष्ट पार्टी अफ इन्डियाले १४ र तिप्रा मोथा पार्टीले १३ स्थानमा अग्रता लिइरहेका छन्। यहाँ कंग्रेस ५ सिटमा मात्र अघि देखिएको छ।

नागाल्यान्ड

नागाल्यान्डमा अहिलेको सत्ताधारी नेशनलिस्ट डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (एनडिपिपी) ३० स्थानमा अगाडि छ भने उसको सहयात्री दल भाजपा भाजपा उम्मेदवारले १३ स्थानमा अग्रता लिएका छन्।

एनडिपिपीले ४० स्थानमा र सहयात्री भाजपाले २० उम्मेदवारी दिएका थिए।

सन् २०१८ मा २६ सिट जित्दै नागा पिपुल्स फ्रन्ट सबैभन्दा ठूलो पार्टी बनेको थियो तर उसले सरकार बनाउन सकेन। यसपालि उसले निकै ठूलो धक्का व्यहोर्नुपर्ने देखिएको छ। अहिलेसम्म फ्रन्टका उम्मेदवार ३ ठाउँमा मात्र अगाडि छन्। यहाँ कंग्रेसलाई भने खाता खोल्नै मुस्किल हुने देखिएको छ।

मेघालय

मेघालयमा नेशनल पिपुल्स पार्टीले २७ स्थानमा अग्रता लिइरहेको छ भने त्रिणमूल कंग्रेसले ९, भाजपाले ६, कंग्रेसले ५ र अन्य उम्मेदवारले १२ स्थानमा अग्रता लिरहेका छन्।

२०१८ को चुनावका २१ सिट जितेर सबैभन्दा ठूलो दल बनेको कंग्रेसले सरकार बनाउन भने सकेन। भाजपासहित अन्य क्षेत्रीय दलहरूको सहयोगमा नेशनल पिपुल्स पार्टीले सरकार बनाएको थियो। यसपालि मेघालयमा कंग्रेस र भाजपाको हैसियत बराबर हुने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here