काठमाडौं । आर्थिक संकट, जलवायु परिवर्तन र कोभिड-१९ को महामारीबाट आएको नतिजालगायतका कारणले उच्च जोखिममा रहेका ३० देशमा हैजा फस्टाउने उपयुक्त वातावरण तयार भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ।
सन् २०२२ मा विभिन्न प्रकोप तीव्र रूपमा बढेको डब्लूएचओले जनाएको छ। गत वर्षको जनवरी र अक्टोबरको बीचमा २९ देशले हैजाको संक्रमण बढेको जानकारी दिएका थिए।
‘हामीले कम्तिमा २० वर्षसम्म एकै समयमा यति धेरै प्रकोप भएका देशहरूको संख्या देखेका छैनौं’, डब्लूएचओको हैजा आपत्कालीन उद्धार एकाइका प्रमुख फिलिप बारबोजाले टेलिग्राफलाई भने‚ ‘हामीले हेरिरहेका अधिकांश ठूला प्रकोप सबै असामान्य जलवायुका घटनाबाट उत्पन्न भएका छन्। विशेष गरी लगातार तेस्रो वर्ष भारी वर्षा र ला निनाद्वारा ल्याएको चक्रवातको सामना गरिरहेका दक्षिण अफ्रिकी देशहरू जोखिममा छन्।’
डब्लूएचओका निर्देशक टेड्रोस अधानोम गेब्रेयससले गत वर्ष जलवायु परिवर्तनले हैजाको असर बढेको बताएका थिए। सिरियाले गत वर्ष १५ वर्षमा पहिलो पटक हैजा संक्रमणका कारण प्रकोप घोषणा गर्यो, गत महिनाको भूकम्पपछि स्थिति बिग्रँदै गएको थियो।
लेबनानले ३० वर्षमा पहिलोपटक यस्तै समस्या सामना गरिरहेको छ। यसले आर्थिक पतनको बीचमा रोगसँग लड्न संघर्ष गरिरहेको छ। विज्ञहरूका अनुसार कोभिड-१९ का कारणले विभिन्न देशका स्वास्थ्य सेवा ओझेलमा पर्दा यो समस्या बढेको हो। कोरोना कालमा हैजाको प्रकोपसँग लड्ने प्रयास रोकिएका थिए।
‘हैजा नियन्त्रण गर्न सकिन्छ, नियन्त्रण गर्नुपर्छ’‚ बारबोजाले बताए, ‘यो महँगो होइन, स्वास्थ्य सेवामा पहुँच प्रदान गर्न मात्र हो। यो आधारभूत मानवअधिकार हो।’
हैजा दूषित खानेकुरा वा पानी खाँदा सर्ने गम्भीर रोग हो। यसको उपचार नगर्दा केही घण्टाभित्रै मृत्यु हुन सक्छ। डब्लूएचओको तथ्याङ्कअनुसार हैजाबाट विश्वमा वार्षिक १ लाख ४३ हजार मर्छन्।


















