उपराष्ट्रपतिको निर्वाचनमा महिलालाई मात्र उम्मेदवार बन्न दिनुपर्ने मागसहित बुझाए पत्र

67

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले अब हुने उपराष्ट्रपतिको निर्वाचनमा महिलालाई मात्र उम्मेदवार बन्नदिनुपर्ने मागसहित निर्वाचन आयोगसमक्ष ज्ञापनपत्र बुझाएको छ । अभियानका तर्फबाट संस्थापक अध्यक्ष स्वागत नेपालले आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष स्मरणपत्र बुझाएका हुन् ।

बिहिबारमात्रै मुलुकले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई निर्वाचित गरेको छ। उनले एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेर राष्ट्रपतिको निर्वाचनमा बाजी मारेका हुन् । स्वागत नेपालले आफूहरुले संविधानको धारा ७० र विधायिकी मनसायबमोजिम उपराष्ट्रपतिको निर्वाचनमा महिलामात्र उम्मेदवार रहने व्यवस्था गरी पाऊँ भनेर आज प्रमुख निर्वाचन आयुक्तसमक्ष स्मरणपत्र बुझाएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले भने,‘नेपालको संविधानको धारा ७० अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गर्नुपर्ने व्यवस्था रहेको छ । राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । अब हुने उपराष्ट्रपतिको निर्वाचनमा संविधानको सोही धारा र विधायिकी मनसाय तथा संविधानको मर्मबमोजिम केवल महिलाहरुलाई उम्मेदवार बन्ने व्यवस्था गरिनुपर्छ भनेर हामीले निर्वाचन आयोगमा पुगेर पूर्वस्मरण पत्र बुझाएका छौं ।’

बिहिबार मात्रै सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here