डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु

40

डोल्पा । हिमाली जिल्ला डोल्पाबाटै पहिलो पटक ई–पासपोर्ट बनाउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जिल्लामै नागरिकलाई विद्युतीय राहदानी दिन थालेपछि खुशियाली छाएको छ ।

गत माघ १० गतेदेखि जिल्लाबाटै राहादानीको फाराम भर्न थालिएसँगै नागरिकले जिल्लाबाटै ई–पासपोर्ट पाउन थालेका हुन् ।

जिप्रकाले बिहीबार दुई जनालाई ई–पासपोर्ट दिएको छ । २३ जनाले फाराम भरेर पठाए पनि १३ जनाको ई–पासपोर्ट जिल्लामा आएकोमा दुई जनालाई भने बिहीबार वितरण गरिएको जिप्रकाले जनाएको छ ।

जिल्लामै विद्युतीय राहदानी पाउँदा भने समय र आर्थिक दुबैको बचत हुनुका साथै सहज भएको त्रिपुरासुन्दरी नगरपालिका–११ का गणेशमान पुनले बताउनुभयो ।

यसअघि राहदानी लिन काठमाडौं जानुपर्ने, समय धेरै लाग्ने र पैसासमेत धेरै खर्च हुने गरेको पुनको भनाइ छ ।

२०७९ साल माघ १० गते गृहले जिल्लाबाटै राहदानी दिने व्यवस्था गरेपछि नागरिकले प्रजिअबाट सहज रुपमा ई–पासपोर्ट पाउन थालेका हुन् ।

जिल्लाबाटै ई–पासपोर्ट राहदानी वितरण हुने भएकाले जिल्लाका कुनै पनि नागरिकले काठमाडौं जानु नपर्ने र जिल्ला प्रशासनमा आएर सहजै ई–पासपोर्ट राहदानी लिन सकिने प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोखरेलले बताउनुभयो ।

प्रजिअ पोखरेलका अनुसार ई–पासपोर्ट राहदानी लिन नागरिकले सक्कल नागरिकतासहित  जिल्ला प्रशासनमा गएर नगद पाँच हजारको बैंक भौचर भरी एकै दिनमा ई–पासपोर्टका लागि फर्म भरेको एक महिनापछि नागरिकले पासपोर्ट प्राप्त गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विकट हिमाली जिल्लाका नागरिकका लागि ई–पासपोर्ट राहदानी लिन सबैको पहुँच समान हुने भएको छ । पछिल्लो समय डोल्पाबाट पनि वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या बढ्दो छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here