काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ ।
स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी शम्भु प्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएको बताए । ‘गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) (केन्द्रीय सर्भर)मा समस्या आएपछि देशभरका स्वास्थ्य बीमाका सर्भर चलेका छैनन्,’ ज्ञवालीले भने, ‘सर्भर नचल्दा बिमितले पाउने सेवामा समस्या हुने नै भयो ।’
स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा विहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ । अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् ।पछिल्लो समय स्वास्थ्य बीमाको सेवा गुणस्तरीय नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।















