काठमाडौँ । राष्ट्रिय किताबखाना (प्रहरी) ले प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहलाई आगामी चैत ११ गतेबाट लागु हुनेगरी अवकाशपत्र थमाएको छ। किताबखानाले सिंहसहित २०४९ चैत ११ गते सेवा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरू नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहनकुमार आचार्यलाई एक साताअघि नै अवकाशसम्बन्धी पत्र पठाएको हो।
प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवावधिका आधारमा किताबखानाले अवकाश हुने मिति तोकर पत्र पठाउँदा पनि आइजिपी सिंह भने नियमावलीको प्रावधान हटाएर कार्यकाल थप दुई वर्ष बढाउने ‘लबिङ’ मा लागेका छन्।
प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवाअवधिको प्रावधान हटाउन लामो समयदेखि प्रयास भए पनि सफलता मिल्न सकेको छैन। तर अहिले आइजिपी सिंह चैत ११ गतेअगाडि नै उक्त प्रावधान हटाउन लगाएर कार्यकाल लम्ब्याउने खेलमा रहेको स्रोतको दाबी छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।