काठमाडाैं । नेपाली क्रिकेट टीमा स्टार स्पिनर सन्दीप लामिछानले मोन्टी देशाइले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाब्वे यात्रा (विश्वकपको ग्लोबल छनोट) तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले अहिलेको टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका हुन् ।
उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षकको आगमनसँगै टोलीले नयाँ गति लिएको बताए । यही टोलीमा खेलाडीको राम्रो तालमेल रहेको भन्दै उनले आगामी दिनमा नेपाली क्रिकेट अझै राम्रो हुने प्रतिक्रिया दिए । लामिछानेले सोमवार पीएनजीबिरुद्ध ९ विकेटको फराकिलो जीत निकाल्दा नेपाल अब विश्वकप छनोट पुग्न एक कदम मात्र टाढा छ । सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दी म्याच पनि घोषित भए ।
यस्तै अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकिङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताए । उनले प्रशिक्षकको रणनीतिअनुसार खेल्न पाउँदा आफू खुशी रहेको प्रतिक्रिया दिए । नेपालका लागि अर्धशतकीय पारी खेल्दै जीतसम्म डोहोर्याएका ओपनर आसिफ शेखले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भए पनि परिस्थितिअनुसार खेल्दा पीएनजीविरुद्ध सहज सफलता मिलेको बताए ।
ओपनिङको रूपमा मैदान प्रवेश गर्दा आफ्नो मानसिकता धेरै रन बटुल्ने हुने र टीमको मनोबल उच्च बनाउने हुने गरेको आसिफले बताए । अर्का ओपनर कुशल भुर्तेलले हरेक खेल महत्त्वपूर्ण हुने भन्दै आफ्नै शैलीमा खेल्दा आफूलाई सफलता मिलेको बताए । प्रशिक्षकलाई कुन खेलाडीबीच कस्तो तालमेल हुने र कस्तो खेल्ने थाहा भइसकेको र सो अनुसार रणनीति बनाउने गरेको उनले बताए । प्रशिक्षकको रणनीति अनुसार खेल्न आफू सफल भएको उनको प्रतिक्रिया छ । लीग– २ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीवार खेल्नेछ । त्यसअघि बुधवार युएई र पीएनजीबीच खेल हुने तालिका छ ।


















