एजेन्सी । विश्व फुटबलको उच्च निकाय फिफाले २०२६ को विश्वकपको लागि नयाँ ढाँचा पुष्टि गर्ने भएको छ, जसको मतलब आउँदो संस्करणको विश्वकपमा १०४ खेल ३९ दिनमा खेलाईनेछ।
यस निर्णयलाई रुवान्डाको राजधानी किगालीमा मंगलबारको फिफा काउन्सिलको बैठकमा अनुमोदन गरिनेछ, जहाँ विश्व फुटबलका उच्च अधिकारी बिहीबार उनीहरूको वार्षिक सम्मेलनको लागि भेला भएका छन्।
क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका द्वारा आयोजना गरिने २०२६ संस्करण पहिले नै ४८ टोलीले सहभागिता जनाउने भएपछि सबैभन्दा ठूलो विश्वकप हुन गइरहेको थियो र अब सबैभन्दा लामो पनि हुने भएको छ। फिफाको मूल विचार भने ४८ टोलीलाई १६ ओटा समूहमा विभाजन गरी प्रत्यक समूहबाट दुई-दुई गरी ३२ टोलीको नकआउट चरण गराउने रहेको थियो।
उक्त ढाँचामा ८० खेल समावेश हुने बताइएको थियो, जुन सन् १९९८ देखि प्रयोगमा रहेको २४ टोली समावेश प्रतियोगितामा हुने ६४-खेलको ढाँचा भन्दा फरक हुने थियो।
तर नयाँ ढाँचाका अनुसार प्रत्यक समूहमा चार टोली गरेर १२ समूहमा विभाजन हुनेछ, जसबाट विजेता र उपविजेता स्वत अर्को चरणमा प्रवेश गर्नेछन् भने आठ उत्कृष्ट तेस्रो स्थानमा रहेका टोली पनि नकआउट राउन्डमा पुग्नेछन्।
यसो हुँदा एक समूहको अन्तिम खेल एकै समयमा गर्न सकिनेछ, जसको कारण कुनै पनि नतिजामा सहभागी हुने टोलीले हस्तक्षप गर्ने मौका पाउने छैनन्। विश्वकपका लागि दिइने प्रि-टूर्नामेन्ट रिलिज अवधि २३ दिनबाट घटाएर १६ दिनमा ल्याउँदै विश्वकपमा लाग्ने थप एक हप्ता निकालिनेछ, जुन अघिल्लो समर प्रतियोगिताको तुलनामा थोरै कम हो तर कतारमा हुने विश्वकपको तयारीका लागि खेलाडीहरूलाई दिइएको समयभन्दा दोब्बर हुनेछ।
यद्यपि उद्घाटन खेलको लागि आधिकारिक मिति घोषणा गरिएको छैन, फिफाले प्रतियोगिताको “फुटप्रिन्ट” ५६ दिन, सुरु हुनु अघि १६ दिन र त्यसपछि प्रतियोगिताको ३९ दिनसम्म कायम राख्ने तयारी गरेको छ।


















