काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेकेा छ ।
जसमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३ प्रतिशत अर्थात एक लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा छिटोमा १२ चैत र उक्र अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि २२ चैतसम्म थप हुने कम्पनीले जनाएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीले आईपीअनो निष्कासको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि-आस्बा स्वीकृती प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले इलाम नगरपालिका (साबिक सलुबुङ) संदकपुर गाउँपालिका (साबिक सुम्बेक), माईजोगमाई गाउँपालिका (साबिक प्याङ) स्थित ९.६ मेगावाट सुपरमाई ए जलविद्युात आयोजना जलविद्युत निमार्ण गरि उत्पादन गरिरेको छ ।
आयोजनबाट ३२ जेठ २०७७ बाट नै व्यावसायिक उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।
उक्त जलविद्युत आयोजनाको कुल लागत एक अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ। त्यसैगरी, आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार ७७ रुपैयाँ रहेका छ।

















