काठमाडौं । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो ।
यसैगरी बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झन्डै चार गुणा बढी उपचारमा खर्च गर्ने गरेको पाइएको थियो । प्रत्यक्ष मेडिकल खर्चअन्तर्गत सबैभन्दा बढी खर्च केमोथेरापीमा हुने गरेको पाइएको थियो । केमोथेरापीमा २८ प्रतिशत खर्च रहेको छ ।
६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको पाइयो । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले मेडिकल खर्च, क्यान्सर पत्ता लगाउन र उपचार गर्न लाग्ने खर्च, उपचारका लागि यातायात, खाना तथा बास खर्च र क्यान्सरका कारण बिरामी तथा बिरामीको आफन्तको गुमेको आय अध्ययनमा समेटिएको बताए। उनले बिमा सुविधाले क्यान्सरको उपचार खर्च नसमेटेको हुनाले सरकारले बिरामीलाई राहत पुग्ने गरी अनुदानको रकम बढाउनुपर्ने बताए। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

















