महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल बिजयी

32

 

घोराही ।  दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल बिजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित हुनुभएको हो ।

स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतपरिणामअनुसार बिजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सवैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययनरत क्याम्पसको स्ववियु सभापतिमा बिजयी हुनुभएको छ । पराजित महराले ६ सय २० मत प्राप्त गर्नुभयो ।

क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले तालमेल गरेका थिए । त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी (खुमन) ले एक सय २४ मत,  राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८ मत, स्वतन्त्र विद्यार्थी समुहबाट अभिषेक विष्टले एक सय ३० र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी) का सेवक भट्टराईले ४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कुलवीर चौधरीले जानकारी दिनुभयो ।

सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्तगरी पराजित हुनुभएको छ । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मत प्राप्त गरी बिजयी हुनुभएको छ । अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्तगरी पराजित हुनुभयो ।

सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिषकुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्वीयुका सविन पोख्रेल बिजयी हुनुभएको छ । चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहे पनि बिप्लप निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।  लीलाधर वली गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here