काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावको कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ।
गत बुधबार बसेको राष्ट्रिय सभाको बैठकले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको थियो।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारको प्रस्ताव तथा राष्ट्रिय सभा सदस्यहरू सुरेशकुमार आले, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार र सिंहबहादुर विश्वकर्मा लगायत १८ जना सदस्यहरूको समर्थनमा सो संकल्प प्रस्ताव पारित भएको थियो।
शुक्रबार बसेको समितिको बैठकले सो संकल्प प्रस्तावको कार्यान्वयनको अवस्थाको अनुगमन गर्न समिति सदस्य भुवनबहादुर सुनारको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमिति सदस्यहरूमा तुलप्रसाद विश्वकर्मा र सिंहबहादुर विश्वकर्मा रहेका छन्। बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति प्रकाश पन्थले संकल्प प्रस्ताव पारित गर्दा सरकारलाई आवश्यक निर्देशन समेत दिइएको बताए।
उनले विषयगत समितिहरूलाई पनि आफ्नो क्षेत्रभित्र पर्ने विषयहरूमा कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गर्ने निर्देशन भएकाले दिगो विकास तथा सुशासन समितिले ३ सदस्यीय अनुगमन समिति बनाएको बताए।
उनले समितिका अन्य सबै सदस्यहरू आमन्त्रित सदस्यका रुपमा रहने र सबैले अनुगमनका लागि सहयोग गर्ने निर्णय भएको पनि बताए।
सभापति पन्थले उपसमितिको कार्यकाल समितिको कार्यकालभरी रहने बताए। उपसमितिले आगामी असारसम्ममा आफ्नो कामको प्रतिवेदन पेस गर्नुपर्ने र अरु प्रगति विवरण भने उपसमितिको कार्यकाल सकिनु एकमहिना अगाडिसम्म बुझाउन सकिने जानकारी दिए।


















