काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । गठबन्धनमा आबद्ध दलका नेताहरूसमक्ष आज मन्त्रालय भागबन्डाको औपचारिक प्रस्ताव राख्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
गठबन्धनका दलहरू भने आन्तरिक रूपमा मन्त्रीबारे लगभग टुंगोमा पुगिसकेका छन् । सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट डा. बेदुराम भुसालले नेतृत्व गर्ने करिब पक्का भएको छ । स्रोतका अनुसार नेताहरूबीच भुसालले नेतृत्व गर्नेमा समझदारी जुटेको छ ।
एकीकृत समाजवादीमा सरकारको नेतृत्वका लागि उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालाले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् । उनीहरूलाई अर्कोपटक मन्त्री बनाउने गरी समझादारीको प्रयास गरिएको एक नेताले बताए ।
एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ । जसमा बझाङबाट निर्वाचित सांसद भानुभक्त जोशी मन्त्री बन्ने निश्चित रहेको नेताहरू बताउँछन् ।
एकीकृत समाजवादीभित्र मन्त्री छनोटका लागि मापदण्ड बनाइएको छ । स्रोतका अनुसार निर्वाचनअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेकामध्येबाट एकजना दोहोरिने गरी मापदण्ड बनाइएको छ । जसमा नेता मेटमणि चौधरी मन्त्रीमा दोहोरिन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।
एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालयमा दाबी गरिरहेको छ । गृृह मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको पनि दाबी छ । सो मन्त्रालय एकीकृत समाजवादीले पाउने सम्भवना देखिँदैन । एकीकृत समाजवादीले गृहसहित श्रम, रोजगार तथा समाजिक सुरक्षा र सहरी विकास मन्त्रालय पाउनुपर्ने माग गठबन्धनमा राखिने सो पार्टीका एक नेताले बताए ।

















