काठमाडौं । सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ।
यस वर्षको मनसुन सुरु यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबारे सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि सरोकारवालाहरुसँग समन्वयन गरि आवश्यक निर्देशन गरेको पनि मन्त्री पाैडेलले जनाए ।
यसवर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरुको समेत विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुनर्निर्माण गर्ने व्यवस्था मिलाइएको मन्त्री पौडेलले जनाए ।
सबै प्रदेशमा बाढी तथा पहिरोको क्षतिको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले जनाए।
उनले गत वर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्तावापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुनर्निर्माणको काम सुरु गरिएको पनि जनाए ।
मन्त्री पौडेलले पीडीतको राहत तथा उद्धारका लागि प्रदेशस्तरमा आवश्यक प्रबन्ध गरिएको भन्दै त्यसबारे भएका कामकारबाहीको पनि जानकारी दिए। सरोकारवाला निकाय र तीनका पदाधिकारीहरुलाई विपद्बाट पुगेको क्षतिको समीक्षा गरि पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढाउन निर्देशन दिइएको पनि मन्त्री पौडेलले सदनलाई जानकारी दिए।

















