बजारमा सुनको अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग

88

काठमाडाैं ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले बजारमा सुनको कृतिमा अभाव भई अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष रमेश महर्जनको नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पौडेललाई भेट गरी बजारमा सुनको माग अनुसारको आपूर्ति हुन नसक्दा यस क्षेत्रमा प्रतिकूल असर परेको जानकारी गराएको हो ।

साविकमा दैनिक २५ केजी सुन बिक्री वितरण हुँदै आएकामा कोभिड–१९ का कारण गत वर्ष चैतको पहिलो हप्तादेखि नै दैनिक १० केजीमा आयात झारिएकामा हाल अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा आइसकेकाले सुनको दैनिक कोटा वृद्धि गर्न ध्यानाकर्षण गरिएको छ । मागलाई धान्नै नसक्ने गरी अव्यावहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध गतिविधि बढ्ने तथा राजश्व चुहावट हुने भएकाले वर्तमान अवस्थामा दैनिक कोटालाई कम्तीमा पनि ३० केजी बनाउनु पर्ने भनिएको छ ।

सुनको बिक्री वितरणलाई विकेन्द्रीत गरी नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ ले तोकेअनुसार काठमाडौँको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर अन्य आठ वटा स्थानबाट सुनको बिक्री वितरणको व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । प्रतिनिधिमण्डलले मन्त्रिपरिषद् सचिवालयका सचिव बैकुण्ठ अर्याललाई पनि सोही विषयमा आइतबार ध्यानाकर्षण गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here