यस्तो छ प्रधानमन्त्री प्रचण्डको युएई भ्रमण

65

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको प्रतिनिधिमण्डलका ३२ सदस्यीय टोली आज बेलुका युएई प्रस्थान गर्ने भएको छ। नेपाल एयरलाइन्सको विमानबाट आज राति ९:३० बजे जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप २८) मा भाग लिन आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा वनमन्त्री वीरेन्द्र महतो, अर्थसचिव कृष्णहरी पुस्कर, वन सचिव दिपककुमार खरेल, परराष्ट्र मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्साल र प्रोटोकल चिफ दीलिपकुमार पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकी, प्रचण्डकी छोरी गंगा दाहालसहित १८ सदस्यीय टोली रहनेछ। उक्त टोलीमा ३÷३ जना सुरक्षा अधिकारी र पत्रकार सहभागी हुनेछन्।

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठलगायत १४ जना व्यवसायीहरु पनि उक्त टोलीमा सहभागी हुनेछन्। आबुदाबीमा रहेको नेपाली राजदूतका अधिकारीहरु युएईमै भ्रमण टोलीसँग सम्मिलित हुनेछन्।

कोप–२८ मंसिर १४ गतेदेखि २६ गतेसम्म दुबईमा हुँदैछ। प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन्।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको अवार्ड समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्र प्रमुखसरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तालिका रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here