काठमाडौं–दोहामा टिकटक बनाउने ‘क्याबिन क्रु मेम्बर’ कारबाहीमा

71

काठमाडाैं । हिमालय एयरलाइन्सको उडान नम्बर एच ९ ५६३ (काठमाडौं–दोहा) मा टिकटक बनाउने ‘क्याबिन क्रु मेम्बर’ कारबाहीमा परेका छन् ।

बुधवार दोहा उडान गर्ने क्रममा पाकिस्तानको आकाशमाथि ३८ हजार फिटमा टिकटक बनाउने ३ जना क्याबिन क्रु मेम्बर (एक क्याबिन एटेन्डेड र २ एयर होस्टेस) लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाएको हो ।

प्राधिकरणले ३ देखि ६ महिना उडान रोक (ग्राउन्डेड) गरेर कारवाही गरेको छ । उनीहरूले उडानको समयमा इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेको, अरूलाई विद्युतीय डिभाइस नचलाउनुस् भन्नुपर्नेले आफैं प्रयोग गरेको तथा उडान सुरक्षामा गम्भीर हुनुपर्ने व्यक्ति आफैंले लापरवाही गरेकाले ग्राउन्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार ती क्याबिन क्रु मेम्बर कतारमा रहेकाले अब उनीहरू अर्को जहाजबाट आउनुपर्ने भएको छ । काठमाडौं ल्याएर थप अनुसन्धान हुनेछ ।

क्याबिन क्रु, ककपिटमा रहेका जिम्मेवार कर्मचारीले कुनै पनि कमजोरी गर्न नहुने भएकाले आवश्यक अध्ययन गरेर थप कारवाही हुन सक्ने प्राधिकरणले जनाएको छ । हिमालय एयरलाइन्सका एटेन्डेड उज्ज्जल किरण न्यौपानेले अरू दुई एयर होस्टेससँग टिकटक बनाएका थिए ।

टिकटक भिडियोमा एयर होस्टेसले पालना गर्नुपर्ने नियम, उडान अनुभव आदिका बारेमा बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here