काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्याउन निर्देशन दिएकी छिन् ।
आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिएकी हुन् ।
‘संविधानले नै नागरिकलाई आधारभूत आवास सुविधाको कुरा मौलिक हककोरुपमा व्यवस्था गरेको छ । त्यससम्बन्धी कानूनी प्रावधान र अनुदानको व्यवस्थासमेत छ,’ मन्त्री गुरुङले भनिन्, ‘संविधान र कानूनबमोजिम जसले सुरक्षित आवासको सुविधा पाउने हो, उसलाई वर्षा सुरू हुनुअगावै आधारभूत आवासको सुविधा पुर्याउनुस् ।’
काठमाडौंको फोहोरमैला व्यवस्थापनमा चासो राख्दै बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन केन्द्रको व्यवस्थापनमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।


















