काठमाडौं । नेपालले काठमाडौं-ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग गरेको छ । १५ चैतमा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार कोभिड-१ का कारण बन्द भएको हवाई सेवाले दुई देश बीचको पर्यटन र व्यापारलाई थप वितार गर्ने भन्दै सेवा पुनः सञ्चालनका लागि आग्रह गरिएको थियो ।
ल्हासा-काठमाडौं सिधा उडान नहुँदा हाल काठमाडौं-छेन्दु-ल्हासा र ल्सासा-छेन्दु-काठमाडौं गरी घुमाउरो रुटमा हवाई सेवा जोडिएको छ ।
कोभिड-१९ पछि पछिल्लो समय नेपाल र चीन जोड्ने गरी ५ वटा वायुसेवा कम्पनीले नियमित उडान थालिसकेका छन् । जसमा एयर चाइना र सिचुवान एयरलाइन्सले छेन्दु–काठमाडौं, चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वाङझाउ र हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङलाई काठमाडौंसँग जोड्ने गरी समर सेड्युल स्वीकृत गराएका छन् ।
















