काठमाडौं । एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण आज हुँदै छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को वार्षिक कार्यक्रमअन्तर्गतको अवार्ड समारोह काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा हुनेछ ।
अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट एक खेलाडीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिनेछ ।
उत्कृष्टमध्ये एक पुरुष र महिला सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँसहित सम्मान गरिनेछ ।
यस्तै, एक पुरुष र महिलालाई प्रतिभाशाली खेलाडीबाट सम्मान गरिनेछ । एक पुरुष र एक महिलालाई उदीयमान खेलाडीबाट सम्मान गरिनेछ । यी दुवै विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एक पाका खेलकर्मीलाई ३५ हजार रुपैयाँको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ ।
एक खेल पत्रकारलाई २५ हजार रुपैयाँको एनएनआईपीए खेल पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
एकजनालाई १५ हजार रुपैयाँको वर्षको उत्कृष्ट पारा खेलाडीबाट सम्मान गरिनेछ ।


















