काठमाडाैं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । एन्जिला र प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान एक–एक लाख नगद प्राप्त गरे ।
सर्वोत्कृष्ट पारा एथ्लेट अवार्ड सुभेक्षा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र एनएनआईपीए खेलकुद पत्रकार पुरस्कार कान्तिपुर दैनिकका ध्रुव तुलाधरले प्राप्त गरे ।
पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले २५ हजार नगद प्राप्त गरे ।
ठमेलस्थित एलफ्ट होटलमा आयोजित अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारसहित सम्मानसमेत गरिएको थियो ।
उत्कृष्ट खेलाडीको अवार्ड पाउनेमा आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङकी निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंह छन् ।
त्यस्तै फुटबलकी एन्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीकी कमला चन्द, जुडोका संजित डंगोल, कबड्डीका घनश्याम रोका मगर, करातेकी चन्चला दनुवार, र्याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङकी सुष्मिता नेपाल, स्कीकी संगीता लामा, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलकी सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह विष्ट, कुस्तीकी सुशीला चन्द र उसुकी सुष्मिता तामाङले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे ।

















