त्रिभुवन विमानस्थलमा ट्याक्सी सेवा अवरूद्ध

47

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ महसुल दर महँगो भएको भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलित भएका छन्। ट्याक्सी व्यवसायीहरूले विमानस्थल क्षेत्रमा यतिबेला आफ्नो पुरै सेवा ठप्प पारेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीको अगुवाईमा उक्त आन्दोलन जारी रहेको बागमती प्रदेश कमिटीका अध्यक्ष शंकर थापाले जनाए। उनका अनुसार सोमबार अपरान्ह ३ बजेदेखि ट्याक्सी व्यवसायीहरूले पार्किङमा आफ्नो ट्याक्सी थन्क्याएर ‘शान्तिपूर्वक’ आन्दोलनमा उत्रिएका हुन्।

‘आइएमएस एयरपोर्ट सर्भिस नामक कम्पनीले मनोमानी रुपमा पार्किङ शुल्क उठाउने गरेको प्रति यो विरोध आन्दोलन सुरू गरेका हौं,’ उनले भने, ‘पटक-पटक सम्बन्धित सरोकारवालासँग कुरा राख्दा समेत सम्बोधन नभएपछि आन्दोलनको विकल्प रोज्न पुग्यौं।’

हाल त्रिभुवन विमानस्थल क्षेत्रमा ट्याक्सी (कार) पार्किङको लागि प्रति घण्टा ८० रुपैयाँ तिर्नुपर्छ। यसभन्दा अघि जम्मा २० रुपैयाँमा प्रतिघण्टा ट्याक्सी पार्किङ गर्न सकिन्थ्यो। तर पछिल्लो समय आइएमएसले पार्किङको जग्गा भाडामा लिएपछि हरेक साधनको पार्किङ शुल्क बढाउन थालेको संगठनको भनाइ छ।

संगठनको माग पार्किङ शुल्क घटाई सहज गरिनुपर्ने रहेको बागमती प्रदेश कमिटीका अध्यक्ष शंकर थापाले बताए। यस बाहेक कम्पनीले प्रतिक्षामा बसेका आफन्तहरूबाट पनि शुल्क उठाउने गरेको उनले बताए। यो कार्यप्रति पनि व्यवासयीहरूले आवाज उठाउन चाहेको हो।

यी विषयहरूमा पर्यटन मन्त्री सुदन किरातीसँगै छलफल समेत भइसकेको अध्यक्ष थापाको भनाइ छ। उनका अनुसार मन्त्री किरातीले व्यवसायीहरूको गुनासो सम्बोधन गर्नेमा आश्वासन दिएका छन्। ‘तर हिजोदेखि अझै पनि हामीलाई थप छलफलको लागि भने बोलाइएको छैन। हामी प्रतिक्षामा छौं,’ बागमती प्रदेश कमिटीका अध्यक्ष थापाले भने।

उनका अनुसार आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here