काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ ।
विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका चार वटा टावरको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ ।
वैकल्पिक व्यवस्थाका रुपमा दोर्दी खोला–१ को साढे तीन किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाहरुको विद्युत् जोडिएको थियो । टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत् आयोजनाहरुको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताएका छन् ।
प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला-१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिएका छन् ।
निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत्सहित त्यस करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा विद्युत् जोड्ने व्यवस्था गरिएको छ ।
यसका लागि निर्माणाधीन दुई सय २० केभीे मस्र्याङ्दी करिडोरको करिब छ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ । निर्माण अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा एक य ३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ ।
विसं २०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका चार वटा टावर २०७८ को असारमा असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो । आयोजना २०७४ सालमा सुरु गरिएको थियो ।


















