दिगो विकासको लक्ष्य हासिलका लागि सहकार्य गर्न प्रधानमन्त्रीको आग्रह

38

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने तथा यसमा निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए।

त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक रहेको प्रधानमन्त्रीले बताए।

‘यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रले आआफ्नो जिम्मेवारी बोध गरी दिगो विकासअनुरूपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्न जरुरी छ,’ उनले भने।

दिगो विकास लक्ष्य कार्यान्वयनमा तीनै तहका सरकारको महत्वपूर्ण जिम्मेवारी हुने भन्दै उनले संविधानले धेरै अधिकार र स्रोतसाधन प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको प्रधानमन्त्रीले  बताए।

अन्तर्राष्ट्रियरूपमा प्रतिबद्धता जनाएअनुरूप नै दिगो विकास लक्ष्य कार्यान्वयनमा सरकारको जोड रहेको उनको भनाइ छ।

नेपालको संविधानमा मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीति र अन्य व्यवस्थामासमेत दिगो विकास लक्ष्य हासिल गर्न गर्नुपर्ने धेरै विषय समेटिएको र यसले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि आधार प्रदान गरेको प्रधानमन्त्रीले बताए। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here