सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने

15

 

काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय आफूले कुनै राजनीतिक दबाबमा नभई प्रक्रियागत रुपमै गरेको बताएका छन्।  महान्यायाधिवक्ता नियुक्त भएको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अनुसन्धानका क्रममा रविमाथि मुद्दा चल्ने आधार र प्रमाण नदेखिएका कारण टुंग्याएको दाबी गरे।  ‘महान्यायाधिवक्ताको नियुक्ति राजनीतिक रुपमा हुन्छ।

त्यसैले राजनीतिक दबाबको रुपमै टुंग्याएको हो कि भन्ने लाग्न सक्छ’, उनले भने, ‘तर, यसमा अनुसन्धान भएर विधि र प्रक्रिया अनुसार नै मुद्दा नचल्ने निर्णय भएको हो।’  लामिछानेमाथि कीर्ते राहदानीको मुद्दा नचल्ने निर्णय गरेपछि महान्यायाधिवक्ता पोखरेलको पनि आलोचना भइरहेको छ। नागरिकता लिन प्रक्रिया पूरा नगरेको ठहर भएको र अमेरिकी तथा नेपाली राहदानी दुवै लिएर प्रयोग गरेको भन्दै लामिछानेमाथि प्रहरीले अनुसन्धान गरेको थियो।

प्रहरीको अनुसन्धानपछि मुद्दा चलाउन आवश्यक नहुने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलले मुद्दा नचलाउने भन्दै उच्च सरकारी वकिल कार्यालयमा टिप्पणी पठाएको थियो। उच्च सरकारी वकिल कार्यालयसँगै महान्यायाधिवक्ता कार्यालयको दुई तह टिप्पणीपछि महान्यायाधिवक्ता पोखरेलले उक्त निर्णय गरेका थिए।  योसँगै लामिछानेले राहदानी कीर्तेमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको  छ।

सर्वोच्चले लिखित जवाफ माग गर्ने आदेश पनि गरेको छ। मंसिर ४ मा भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचन उनको सांसद पद खारेज भएको थियो।  लगत्तै निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन तोकेको छ। उक्त निर्वाचनका लागि मनोनयन दर्ता हुँदै शुक्रबारदेखि आचारसंहिता लागू भइसकेको छ। लामिछाने पुन: उक्त क्षेत्रमा उम्मेदवा भएर मैदानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here