डढेलोका कारण देशभरको प्रदूषणको मात्रा बढ्याे

43

काठमाडौं । वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको बताएको छ।

आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदूषणको मात्रा बढेको बताएका हुन्।

उनले पानी नपर्दा र हावा वहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको बताए। उनले स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताए।

बारा, पर्सा र चितवनबाट बागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढेको बताए।

उनले काठमाडौं प्रदूषणको पहिलो नम्बरमा पर्‍यो जस्ता समाचारहरु सञ्चारमाध्यममा आइरहेको तर त्यसले ठूलो फरक नपार्ने बताए।

उनले प्रदूषणको पहिलो, दोस्रो नम्बरमा पर्‍यो भन्नेकुरा प्रचारबाजीको विषयवस्तु मात्रै भएको बताए।

उनले भने, ‘वायु प्रदूषण यो समय देशभर नै बढीरहेको छ। वर्षाको सिजनमा पानी परिरहेकाले धेरै कम हुन्छ र हिउँद लाग्दै गर्दा विस्तारै बढ्दै जान्छ, यसबेला पानी कम पर्ने र हावा पनि कम बहनाले बढ्छ र डढेलेको सिजनमा फेरि वायु प्रदूषण बढ्छ। अहिले वायु प्रदुषण बढेको डढेलोको कारणले हो। स्याटलाइट इमेजबाट हेर्दा बारा, पर्सा र चितवनमा अलि बढी नै तुवाँलो निस्किरहेको छ।’

प्रवक्ता पौडेलले प्रदूषणको मात्रा बढेकाले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, थप सतर्कता अपनाउनुपर्ने र सकेसम्म घरबाहिर निस्किन नहुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here