तुइनबाट खसेर ६५ वर्षमा ६४ ले गुमाए ज्यान

48

दार्चुला, वैशाख १० । नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो।

तुइनबाट खसेर मृत्यु भएको यो पहिलो घटना होइन। पछिल्ला ६५ वर्षमा दार्चुलाका मात्रै ६४ जना यसरी नै महाकालीमा बिलाएका छन् तर तीमध्ये तीन जनाको मात्रै शव भेटिएको छ। ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन्। २०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये व्यास गाउपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारी, व्यास गाउँपालिका–५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको छ।

सबैभन्दा बढी व्यास गाउँपालिका–२ का मात्रै २५ जना तुइनबाट खसेर बेपत्ता भएका छन्। व्यास–६ का आठ, व्यास–५ का १९, व्यास–३ का पाँच र व्यास–४ का तीन जना बेपत्ता छन्। दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका–६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन्।

सबैभन्दा धेरै १२ जना व्यास–२ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट खसेका छन्। व्यास–५ को ठन्डापानीस्थित तुइनबाट ११, व्यास–२ को मालघाट तुइनबाट नौ, व्यास–५ को तिगरमघाटबाट छ र व्यास–६ को एलागाड तुइनबाट पाँच जना महाकालीमा खसेर बेपत्ता भएका छन्।

व्यास–४ को मगडागाउँबाट चार तथा व्यास–६ को कालागाड, व्यास–५ को नाजीघाट र फताङघाटबाट तीन–तीन जना बेपत्ता भएका छन्। बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक–एक जना हराएका छन्। दोलखा भीमेश्वर–६ स्थायी घर भएका इन्जिनियर ४२ वर्षीय राजेन्द्र न्यौपाने १३ जेठ २०७६ मा व्यास–४ को बर्तीघाटस्थित तुइनबाट खसेका थिए।

पुल र तुइन नभएका ठाउँमा ज्यान जोखिममा राखेर ट्युबबाट पनि महाकाली वारपार गर्न बाध्य छन्। महाकालीले सीमा छुट्याएका दार्चुलाका सीमा क्षेत्रका स्थानीयले खाद्यान्नलगायत दैनिक आवश्यकताका सरसामानको जोहो विगतदेखि भारतबाटै गर्दै आएका छन्। आउजाउका लागि नजिक तुइन नहुनेले गाडीको ट्युब प्रयोग गरेर महाकाली वारपार गर्नुको विकल्प हुँदैन। यस क्रममा पाँच जनाले ज्यान गुमाएका छन्। उनीहरू सबै लेकम गाउँपालिकाका हुन्। गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here