काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका रमेश बाहुन (सुजन पौडेल) जेलमुक्त भएका छन्। १० वर्षको कैद सजाय भुक्तान गरेर उनी वैशाख ८ गते केन्द्रीय कारागार सुन्धाराबाट जेलमुक्त भएका हुन्।
बाहुन लागुऔषध मुद्दामा दोषी ठहर भएका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश नवराज दाहालको एकल इजलासले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको थियो।
भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो। प्रहरीले कलंकीको खसीबजार छेउमा हिँडिरहेको बेला नियन्त्रणमा लिँदा उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्तोल बरामद भएको दाबी गरेको थियो।
काठमाडौं उपत्यकामा गुण्डागर्दीमार्फत अवैध रकम असुलीमा संलग्न उनी लागुऔषध कारोबारमा समेत संलग्न रहेको प्रहरीको दाबी थियो। सोही आधारमा उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ ९२०अनुसार मुद्दा दायर गरिएको थियो।
बाहुन-एमाले कनेक्सन
नेपाली सेनाको जागिर छाडेर आपराधिक गतिविधिमा लागेका बाहुनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै टीका लगाएर एमालेमा प्रवेश गराएका थिए। त्यो बेला बाहुन प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए।
ललितपुरमा मीनकृष्ण महर्जनमाथि गोली प्रहार भएपछि अनुसन्धानका क्रममा ललितपुरको सडक ठेक्काको विवादमा बाहुनको योजनामा श्रेष्ठमाथि गोली प्रहार भएको खुलेपछि उनी भागेर भारत पुगेका थिए।
झन्डै इन्काउन्टर
२०७१ सालमै रमेश बाहुन उर्फ सुजन पौडेलको इन्काउन्टर गर्न खोजिएको थियो। त्यसलगत्तै दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर भएको थियो।

















