काठमाडाैं । चितवन क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । आज मध्यान्ह २ बजेदेखि चितवन उद्योग वाणिज्य संघको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको हो ।
इच्छाकामना गाउँपालिका–१ र ३ को मतपत्र मिसाएर गणना सुरु गरिएको हो । यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको छ । चितवन–२ मा एक लाख २४ हजार ६ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार २ सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।


















