काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले आगामी बजेटमा सांसद विकास कोष कार्यक्रम राख्न माग गरेका छन् । नेपाली कांग्रेसले आगामी बजेटबारे सल्लाह सुझाव लिन मंगलबार संसदीय दलको बैठक राखेको थियो ।
सो क्रममा बजेटमा सुझाव पेश गर्दै सांसदहरुले सांसदले निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्रीसमक्ष माग गरेका बैठकमा सहभागी एक नेताले जानकारी गराएका थिए ।
२०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नाममा सांसदले निर्वाचन क्षेत्रमा योजना छनोट गर्न पाउने कार्यक्रम राखेका थिए । पछि एमालेकै अर्थमन्त्री विष्णु पौडेलले उक्त कार्यक्रम बजेटबाट हटाएका थिए ।
‘बजेटका सिद्धान्त, प्राथमिकता र त्यसका आधारहरु अर्थमन्त्रीले जानकारी गराउनुभयो, सदस्य साथीहरुले छलफलमा भाग लिनुभयो । त्यसपछि अर्थमन्त्रीले समसामयिक रुपमा उठेका विषयमा साथीहरुलाई स्पष्टीकरण दिनुभयो’ उनले भने ।
बजेटमा पछाडि परेको क्षेत्र, वर्ग समुदायलाई विशेष व्यवस्था गर्नुपर्ने, महिला आदिवासी जनजाति, पिछडिएको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव सांसदहरुले राखेको लेखकले बताए ।


















