जडीबुटी उद्यानमा आगो लगाउने एकजना पक्राउ

87

गुल्मी । गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एकजना पक्राउ परेका छन्। यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो।

इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला वन अधिकृत जीवन पंगेनीले जानकारी दिए। गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ।

वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्नेलाई ६० हजार रुपैयाँ जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ। अधिकृत पंगेनीले वन वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा राजनीतिक दलका स्थानीय प्रतिनिधिले अनुसन्धान कार्यमा बाधा पुर्‍याउन खोजेको आरोप लगाए।

लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो। उद्यानमा रोपण गरिएका १०० भन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ। आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here