वामदेवको एकता अभियानको सार्थकता / नेकपा विभाजन गर्नेहरुबाटै एकताको पहल
काठमाडौ । नेकपा विभाजनको साढे २ वर्षपछि कम्युनिस्ट दलहरु फेरि एकता अभियानमा लागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा बनाउने तयारी गरेका हुन्, जसको गन्तव्य भने नेकपा हुने उनीहरुले जनाएका छन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको लामो इतिहासमा दल टुटफुटको घटना धेरै भए पनि २०७५ जेठमा तत्कालीन ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरणले ठूलो हलचल र अवसर सृजना गरेको थियो । ठूला कम्युनिस्ट पार्टीको एकता र चुनावमा बहुमत प्राप्तिपछि लामो समयसम्म अब नेकपाले देशको शासनसत्ताको बागडोर सम्हाल्ने अपेक्षा गरिएको थियो । तर, त्यो एकता ३ वर्षमा नै टुटेपछि कम्युनिस्ट आन्दोलन र सपना पनि धूलिसात् भयो । तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको मनमुटावका कारण उक्त पार्टी विभाजन मात्र भएन, त्यसपछि एमालेमा पनि विभाजन आयो । नेता नेपालको नेतृत्वमा नेकपा एस स्थापना भयो ।
नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्र पहिलेकै अवस्थामा पुगे, नेपालले नयाँ पार्टी गठन गर्दा एमाले नेता वामदेव गौतम भने कतैतर्फ पनि लागेनन् । बरु उनले यस्तो प्रवृत्तिको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरे । त्यतिबेला गौतमले पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्धलाई लिएर उत्पन्न अन्तरविरोध समाधान गर्न नसक्दा पार्टी विभाजन उन्मुख भएको भन्दै यो शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक भएको जनाएका थिए । कम्युनिस्ट पार्टी एकताको आवश्यकतालाई जोड दिँदै नेता गौतमले गत वर्षको असार १४ मा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी नै स्थापना गरेका थिए । जसको उद्देश्य एमाले, माओवादी केन्द्र, नेकपा एसलगायत कम्युनिस्ट पार्टी एकीकरण गर्नु थियो । तत्काल एकीकरण सम्भव नभए प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कार्यगत एकता वातावरण बनाउने प्रयास उनले गरेका थिए ।
यसबीचमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा गत आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने जनाएका छन् । विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरिरहेको उनले उल्लेख गरे । त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने उनको भनाइ छ । उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्नेहरूबीच एउटै पार्टी हुने बताए । देशमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिस्ट शक्तिहरूको विकल्प नभएको भन्दै उनले सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन आग्रह गरे । उनले नेकपा मसाल, नेकपा संयुक्तलगायत साना वाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गरे । अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिस्ट मात्र भएको भन्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।
सोही कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पनि नेकपालाई पुनर्जीवित गर्दा नेपाली जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने जनाए । उनले नेताहरूको सनकका भरमा त्यो एकता टिक्न नसकेको टिप्पणी गरे । अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढ्नुपर्ने उनको भनाइ छ । नेकपालाई पुनःस्थापित गर्नका लागि विनापूर्वाग्रह छलफल गर्नुपर्नेमा उनले जोड दिए । अहिले मुलुकमा अराजकता सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले त्यसलाई रोक्न कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने धारणा राखे ।
समाजवादी मोर्चा गठनको छलफल अघि बढे पनि तत्काल नेकपा एमालेलाई भने सहभागी नगराइने भएको छ । कम्युनिस्ट वामपन्थी शक्तिबीच मोर्चा र एकता गर्न गत पुस २३ मा पनि माओवादी प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोली सक्रिय भएको थियो । टोलीमा माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा सहभागी थिए । यस्तै जनता समाजवादी पार्टीबाट नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट विजय पौडेल समाजवादी मोर्चा निर्माणमा सक्रिय भई लागेका छन् । एकीकृत समाजवादीबाट घनश्याम भुसाल र विजय पौडेल सक्रिय रहेको र १०÷१५ दिनमै मोर्चा गठनको घोषणा गरिने तयारी रहेको माओवादी स्रोतको भनाइ छ । जनधारणा साप्ताहिक


















