महाकाली करिडोरको कञ्चनपुर खण्डमा ट्रयाक खोल्न सुरु

90

बेदकोट । महाकाली करिडोरअन्तर्गत कञ्चनपुर खण्डमा सडकको ट्रयाक खोल्न थालिएको छ। त्यस क्षेत्रमा पर्ने रूख कटानको आदेश आएपछि कटानसँगै ट्रयाक खोल्ने काम सुरु भएको हो।

सब–डिभिजन वन कार्यालय ब्रह्मदेवले सडक क्षेत्रमा पर्ने रूखमा टाँचा लगाउने काम गरिरहेको महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए। ‘कञ्चनपुर खण्डमा पर्ने रूख कटानको आदेश आएको छ। अहिले वनले रूखमा टाँचा लगाउने काम गरिरहेका छन्’, उनले भने, ‘लामो समयपछि ट्रयाक खोल्ने काम सुरु भएको छ।’

दुई वर्षअघि दिवा सनीदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुर खण्डमा पर्ने ११ किलोमिटर र डडेल्धुरा खण्डको चार किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो। कञ्चनपुर खण्डमा ठेक्का सम्झौता भएको दुई वर्षपछि ट्रयाक खोल्न थालिएको हो। डडेल्धुरा खण्डको चार किलोमिटर सडकको ट्रयाक खोलिएको निर्माण कम्पनीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिए।

‘कञ्चनपुर खण्डमा वनले रूखमा टाँचा लगाउँदै छ। सँगै हामी ट्रयाक खोल्दै छौँ’, उनले भने, ‘रूख काटेर घाट गद्दीमा राख्दै छौँ।’ करिडोरको जिरो प्वाइन्ट ब्रह्मदेव बजारदेखि कञ्चनपुर सीमासम्मको ११ किलोमिटर क्षेत्रमा पर्ने रूख कटान हुन नसक्दा काम अघि बढ्न सकेको थिएन। केही महिनाअघि मन्त्रिपरिषद्ले रूख कटान गर्न दिने निर्णय गरेको थियो। वन विकास कोषमा रकम जम्मा गर्न ढिलाइ गरिँदा अन्योल सिर्जना भएको थियो।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि डडेल्धुराको सीमासम्म ११ किलोमिटरमा १ हजार ५३२ रूख र ४१९ साना रूख पर्छन्। मन्त्रिपरिषद्ले गत फागुन १५ गते रूख र बुट्यान गरी १ हजार ९५१ रूख कटानका लागि निर्णय गरेको थियो। कञ्चनपुर खण्डको ११ किलोमिटर ट्रयाक खुलेमा छिट्टै डडेल्धुराको जोगबुडासम्म सवारीसाधन गुडाउन मिल्ने भन्दै यस क्षेत्रका स्थानीय खुसी भएका छन्।

महाकाली किनारका चार जिल्ला जोड्ने ४२५ किलोमिटर लामो सडकखण्डमध्ये २१५ किलोमिटरमा ट्रयाक खोलिएको छ। करिडोरअन्तर्गत महाकाली तीरैतीर कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको छाङरु–तिंकरसम्म सडक बन्नेछ। ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक आयोजनाले गरिरहेको छ।

तुसारपानीदेखि तिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ। करिडोरअन्तर्गत डडेल्धुरा खण्डमा पर्ने २७ किलोमिटर सडकको ट्रयाक खोलिएको आयोजना प्रमुख जोशीले जानकारी दिए। ‘बाँकी ३१ किलोमिटर खण्डको रूख कटान आदेश आएको छैन, यो प्रक्रियामा छ’, उनले भने, ‘आदेश आउने बित्तिकै ट्रयाकको काम सुरु हुन्छ।’ करिडोरको डडेल्धुरा खण्ड ११ किलोमिटरदेखि ६९ किलोमिटर पर्छ।

बैतडी खण्डअन्तर्गत पर्ने रूख कटानको म्याद नाघेकाले रूख कटान हुन नसकेको प्रमुख जोशीले बताए। बैतडीमा चार हजार ५९६ र दार्चुलामा दुई हजार ४३ रूख कटान गर्नुपर्नेछ। कञ्चनपुरदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्म महाकाली तीरका बस्तीलाई सडक सञ्जालसँग जोड्न झण्डै डेढ दशकअघि महाकाली करिडोर आयोजना सुरु भएको थियो।

आयोजनाले ट्रयाक खुलेका केही ठाउँमा कालोपत्रका लागि पनि ठेक्का सुरु गरेको छ। डडेल्धुरा र दार्चुलामा गरी चार प्याकेजमा ३८ किलोमिटर कालोपत्रको ठेक्का भएको आयोजना प्रमुख जोशीले बताए।

उनका अनुसार डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गत कुणादेखि सादनीसम्म ६ किलोमिटर तथा दार्चुलाको बेतदेखि उकुसम्म १२ किलोमिटर र खलङ्गादेखि उत्तरतिर १०÷१० किलोमिटरका दुई प्याकेजमा ठेक्का सम्झौता भएको छ। चार वटै प्याकेजको काम तीन वर्षभित्र सक्ने गरी असारमा ठेक्का सम्झौता गरिएको थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here