नेप्से १.०१ प्रतिशतले गिरावट भएर बन्द

26

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट भएर बन्द भएको छ । आइतबार सेयर बजार खुलेको सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९.११ अंकले गिरावट हुँदा १८७०.६५ अंकमा बन्द भएको छ ।

आइतबार नेप्से कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । कारोबार भएको अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा नेप्से पनि रकम पनि घटेको हो । यस्तै २६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आइतबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएका छन् । विकास बैंक तथा वित्त कम्पनी उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक १.८७ प्रतिशत र व्यापार उपसूचक १.६८ प्रतिशतले गिरावट भएको छ ।

अन्य र म्युचुअल फण्ड उपसूचक पनि १ प्रतिशत चभन्दा माथिले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकमममा केही वृद्धि हुँदा १ अर्ब नजिक पुगेको छ । गत बिहीबार करिब ७४ करोडमा सीमित भएको कारोबार रकम आइतबार बढेर ९५ करोड ४३ लाख पुगेको छ । आइतबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख रुपैयाँ र तारागाउँ रिजेन्सी होटलको ३ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार कारोबार भएकामध्ये एनएमबी सुलभ इन्भेष्टमेन्ट २ को इकाईमूल्य सर्वाधिक ३.३३ प्रतिशथले वृद्धि हुँदा प्रभु बैंक ऋणपत्र २०८७ ३.१८ प्रतिशतले बढेको छ ।

सूचीकृत कम्पनीमा मिथिला लघुवित्तको सेयरमूल्य सर्वाधिक २.५९ प्रतिशतले वृद्धि भएको छ । यता एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ८.८९ प्रतिशतले गिरावट हुँदा अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको सेयरमूल्य ४.७० प्रतिशतले गिरावट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here