नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) को लाइसेन्सको आशय पत्र (एलओआई) प्रदान गरेको छ ।
सोमबार बिहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैंठकले आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र प्रदान गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।
‘बोर्डबाट मूल्यांकन सकिएका र प्रक्रिया पुरा गरेका १६ वटा कम्पनीलाई एलओआई पाएका छन्,’ बोर्ड प्रवक्ता श्रेष्ठले भने, ‘आवेदन दिएका अन्य कम्पनीको पनि मूल्यांकनपछि प्रक्रिया पुरा गरेकाले एओई पाउँदै जान्छन्।’ एलओआई पाएको कम्पनीले बोर्डले तोकेअनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउने उनले बताए ।
धितोपत्र बोर्डले नबिल सेक्युरिटिज लिमिटेडलाई धितोपत्र व्यापारीको लाइसेन्सको लागि एलओलाई दिएको छ । कम्पनीमा बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । यस्तै मेगाल स्टक मार्केट लिमिटेडले पनि पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि एलओलाई पाएको हो । अन्य १४ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलालको लागि एलओआई पाएको धितोपत्र बोर्डले जनाएको छ ।


















