काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने जनाएकी छन् ।
बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो जनाएकी हुन् ।
उनले भनिन्, ‘महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन। कुनैपनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ? विभिन्न खाले विज्ञापन हुन्छन् ? महिलाहरुको सुन्दरताका कारणले पनि होला भन्नुभयो, तर त्यसो हो जस्तो मलाई लाग्दैन।’
उनले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने जनाइन् । उनले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भनेपनि सुन्दरताका लागि मात्रै महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत रहेको जनाइन्।


















