काठमाडाैं । कीर्तिपुरको प्यंगथाँबाट रातो मच्छिन्द्रनाथ र ‘जीवित देवी’ भनिने याकः मिसा (एक्ली केटी) को प्रतिमूर्ति आइतबार हटाइएको छ।
कीर्तिपुर नगरपालिकाको सक्रियतामा नगर प्रहरी र जनपद प्रहरीसमेत परिचालन गरेर आइतबार साँझ साढे ६ बजेतिर दुवै मूर्ति झिकेकाे हाे । ती मूर्ति नगरपालिकामा लगेर राखिएको प्यंगथाँस्थित सुखी गछेँ समाजका सचिव नारायण महर्जनले जनाएका छन्। समाजकै अगुवाइमा गत मंसिर १५ गते यी मूर्ति यहाँ प्रतिस्थापन गरिएका थियाे। रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले ती मूर्ति हटाइएन भने यसपालिको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगथाँ नजाने अडान लिँदै आएको छ।
प्यंगथाँकी जीवित देवी याक: मिसालाई फूल-प्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ। ‘सदियौंदेखि चल्दै आएको परम्परा रोकियोस् भन्ने हाम्रो पनि मनसाय होइन,’ सचिव महर्जनले भने, ‘हामीले पवित्र भावना र आस्था राखेर प्यंगथाँमा रातो मच्छिन्द्रनाथ र याक: मिसाको प्रतिमूर्ति राखेका थियौं।
आइतबार मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउँछन् र प्यंगथाँवासीले मच्छिन्द्रनाथकी जीवित ‘प्रेमिका’ मान्ने लक्ष्मीकुमारी महर्जनलाई फूल र प्रसाद चढाउनु पर्ने परम्परा रहेकाे छ।
प्यंगथाँको जुन मन्दिरमा मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति प्रतिस्थापन गरियो, त्यहाँ पहिले ढुंगाको आसन र आसनसामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन। साे ढुंगाको आसन र मण्डपको यहाँ ठूलो महत्व छ, किनभने त्यही ढुंगामाथि बसेर रातो मच्छिन्द्रनाथका पुजारीले मण्डपमा बसेकी याकः मिसा अर्थात् लक्ष्मीकुमारीलाई फूल–प्रसाद दिने गर्छन्।
लक्ष्मीले प्रसाद लिइसकेपछि उनकै खलकका अरू कुमारी कन्याहरूले लिने चलन छ। त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायका अविवाहित केटीहरू यो विधिमा सरिक हुन्छन्।

















