काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भ्रष्टाचारका पुराना फाईल पनि खोल्न आग्रह गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। सो क्रममा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जो कोहि भए पनि उम्कन नहुने भन्दै अध्यक्ष लिङदेनले भने, ‘विगतमा भएका भ्रष्टाचारका ठूलाठूला फाइलहरू पनि खोल्नु पर्यो, उच्च पदस्थ नेता होउन वा कर्मचारी । जो -जो संलग्न छन् । सबैमाथि छानबिन होस् ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदसय एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका एमाले सांसद टोपबहादुर रायमाझी भने अझै फरार छन्।
यस्तै पूर्वगृहमन्त्री बादलको सुरक्षा सल्लाहकार राईका छोरा निरज राई पनि फरार छन्।

















