बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति

44

काठमाडौं  । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सयभन्दा बढि विद्यार्थीको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाउनु भएको छ ।

सो क्याम्पसका पाँच सयभन्दा बढि विद्यार्थीको परीक्षाको नतिजामा आन्तरिकतर्फको प्राप्ताङ्कमा अनुपस्थित देखाएर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्न खोजिएको भन्दै सम्बन्धित निकायसँग छानविन गरी दोषिमाथि कडा कारबाही गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो ।

सांसद सापकोटाले भन्नु भयो, ‘‘आज ५९ औं राष्ट्रिय दिवस, विद्यार्थीहरुले सुखद खबर सुन्नुपर्ने तर आज त्रिभुवन विश्वविद्यालय र आरआर कलेजको लापरबाहीका कारण झण्डै पाँच सय विद्यार्थीहरुको भविष्यमै प्रश्न चिन्ह खडा हुने गरी एउटा घटना अगाडि आयो । जुन सार्वजनिक मिडियाहरुमा सनसनीपूर्ण ढङ्गले आएको छ । आरआर कलेजले भन्छ, टियूको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो । टियूको परीक्षा नियन्त्रण कार्यालय भन्छ–आरआर कलेजको कमजोरी भयो । एकले अर्कालाई दोषारोपण गर्ने र पाँच सयभन्दा बढि विद्यार्थीहरुको जीवनमाथि खेलबाड हुने कार्य भइराखेको छ ।’’

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्नुहुँदै सांसद सापकोटाले ढिलो परीक्षा लिने, ढिलो नतिजा निकाल्ने अनि नतिजामा पनि अनुपस्थित देखाउने काम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र आरआर क्याम्पस कसले गरेको हो ? छानविन गरी सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारलाई सचेत गराउनु भयो ।

‘‘दुई वर्ष अघि हुनुपर्ने परीक्षा ढिलो गरेर दुई वर्ष पछाडि भयो । एक वर्ष लगाएर बल्ल परीक्षाको नतिजा सार्वजनिक भयो । त्यो पनि पाँच सय विद्यार्थीहरुको नतिजामा अनुपस्थित देखियो । आन्तरिक रुपमा विषय शिक्षकले दिएको अङ्कमा समेत फेरबदल गरियो भन्नेजस्ता आरोपहरुसमेत लागेर समाचार प्रकाशित भएका छन् ।,’’ सांसद सापकोटाले भन्नुभयो, ‘‘यसबीचमा ती विद्यार्थीहरुले छात्रवृत्तिलगायतका अरु पाउने सुविधाबाट बञ्चित रहन सक्ने खतरा पनि उत्पन्न भएको छ । त्यसैले म सम्माननीय सभामुखमार्फत सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदै यो घटनाको गम्भीर रुपमा छानविन गर्दै दोषीउपर गम्भीर कारबाहीको माग राख्न चाहन्छु ।’’

सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारबाहीको दायरामा ल्याउने काममा केन्द्रित हुन पनि सम्बन्धित सबै निकायलाई अपिल गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here