ललितपुर । पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र केही सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । कलात्मक शैलीमा निर्माण गरिएका पुराना घरहरूको तस्बिर विदेशी पर्यटकहरूले अवलोकन गर्दै फोटो खिचिरहेको पनि देख्न सकिन्छ ।
दिनप्रतिदिन परम्परागत संरचनाहरू भत्काएर नयाँ संरचना निर्माण हुँदैछन् भन्दै उनले यस्तो क्रम निरन्तर बढ्दै जाने हो भने नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरहरूलाई कुनै दिन म्युजियममा खोज्नुपर्ने बताए । सरकारले परम्परागत घरहरूको संरक्षण र त्यसको उचित व्यवस्थापन गर्न नसकेकामा चित्रकारले दुःखेसो पोखे ।
बज्राचार्यले भने “पाटन क्षेत्र आसपासका विभिन्न गल्लीमा धेरै यस्ता घर छन् । ती घर प्रायः टेकोकै भरमा अडिएका छन् । नयाँ घर निर्माण गर्नका लागि आर्थिक अभाव, र अंशबन्डाका लागि झन्झटिलो भएका कारण अहिलेसम्म यी घर टेकोकै भरमा भए पनि अडिएका छन् ।”
दिनप्रतिदिन जीर्ण बनेका कलात्मक घरहरू कतिपयले कोठा भाडामा दिएका छन् भने कतिपयका घर पानी चुहिएर बस्नसमेत नमिल्ने भएका छन् । इतिहास बोकेका सांस्कृतिक सम्पदा र परम्परागत घरहरूलाई कसरी जगेर्ना गर्ने भन्ने विषयमा स्थानीय नेवार समुदायलाई चिन्ता छ । रासस

















