काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीबाटै भवनको नक्सापास गर्न सकिने व्यवस्था गरेको छ । भवनको नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्डकपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको महानगरले जनाएको छ ।
३१ वैशाखमा मेयर बालेन्द्र साह (बालेन) ले एक निर्णय गर्दै सोमबारदेखि कागजरहित सेवा सुरु गरेका हुन् । भवनको नक्सा अनलाइन प्रणालीबाट सुरु गर्नका लागि इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (ईबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ । यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । महानगरका अनुसार नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाण पत्र लिँदा यस अघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानु पर्ने अवस्था थियो ।
१६ भदौ २०७० देखि महानगरले कागज पनि हुनु पर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको हो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो । प्रणालीका अंग परिपक्व भइनसकेकाले यस अघि कागज बोक्नु पर्ने अवस्था थियो । प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्का सम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रुपान्तरण गरिएको महानगरले जनाएको छ ।
महानगरले १ वैशाखदेखि ५ हजार वर्गफिटसम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिएको छ ।

















