काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा समाजवादको विकल्प नभएको बताएका छन् ।
सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले समाजवादविना नेपालको भविष्य खोज्ने हो भने देश अझै बर्वादीतर्फ जाने उनको भनाई छ ।
‘समाजवादविना नेपालको भविष्य बन्छ भन्ने कसैलाई लागेको छ भने अझै डुब्ने हो त्यो । अझै सिधिने हो, अझै ध्वस्त हुने हो । नेपालको अगाडिको विकल्प भनेको समाजवादको विकल्प हो । हामीसँग त्यो छ । कांग्रेसले पनि लोकतान्त्रिक समाजवाद भन्छ, हामी कम्युनिष्टहरुले त भन्ने नै भइहाल्यौं,’– उनले भने ।
अहिले लोकतन्त्रको चपेटामा परेरे समाजवाद कम्युनिष्टहरुको घाँटीमै अड्किएको उनको टिप्पणी छ । कम्युनिष्टहरु समाजवादबाट विमुख हुन नसक्ने उनको भनाई छ ।
‘अहिले लोकतन्त्रको चपेटामा परेर कम्युनिष्ट नेताहरुको घाँटीबाट समाजवाद अड्केर आउनै सकेको छैन । समाजवाद हाम्रो आदर्श हो नि ? समाजवादबाट हामी कसरी विमुख हुनसक्छौं ?’– उनले प्रश्न गरे ।
देश निराशामा जान नहुने उनको भनाई छ । नेपालको सुन्दर भविष्य निर्माणका लागि फेरि अर्को एउटा गंगालालको आवश्यकता परेको उनको भनाई छ । ‘विद्यार्थी साथीहरु यहाँ भ्रष्टाचारको कुरा गर्नुस्, विचलनको कुरा गर्नुस्, यहाँ विभिन्न महँगीको कुरा गर्नुस्, राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपको कुरा गर्नुस्, पलायनको कुरा गर्नुस् त्यसको एउटै समाधान के हो भने अब हाम्रा नौ जवान विद्यार्थीबाट अर्को एउटा गंगालालको आवश्यकता परेको छ,’– उनले भने ।


















