स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

43

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ तलब खुवाई आर्थिक अनियमितता गरेको पाइएको छ।

महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले नियमविपरीत स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ खर्च गर्दै आएको जनाएको छ।

प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा अन्य पदमा कर्मचारी भर्ना गर्न नपाउने भए पनि अध्यक्षको स्वकीयलाई मासिक १८ हजार रुपियाँ र उपाध्यक्षको स्वकीयलाई मासिक १५ हजार रुपियाँ तलब दिएर वार्षिक तीन लाख ४८ हजार रुपियाँ अनियमितता भएको जनाएको छ।

२० लाखको औषधी खरिद

महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले आव २०७८/७९ मा खरिद ऐनविपरीत २० लाख ९९ हजार रुपियाँको औषधी खदिर गरे पनि उक्त औषधी विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित नभएको, मूल्य सूची, उत्पादन मिति र समाप्त मितिसमेत नभएको टिप्पणी गरेको छ।

औषधीका विषयमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धानुकले महालेखाले औषधी नहेरी टिप्पणी गरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “महालेखाले औषधी हेरेकै छैन। हामीले विभिन्न मितिमा पालिकालाई आवश्यक पर्ने औषधी खरिद गरेका छौँ।”

डोजर थन्क्याएर ११ लाख मर्मत खर्च

दोगडाकेदार गाउँपालिकाले करोडौँ रुपियाँ खर्च गरेर खरिद गरेको डोजर, टिप्पर र एस्काभेटर थन्क्याएर पनि वार्षिक ११ लाख ९६ हजार रुपियाँ मर्मत खर्च गरेको पाइएको छ।

गाउँपालिकाले आवश्यक मेसिन औजार खरिद गरेर पनि प्रयोग नगरेको तर मर्मतका नाममा वर्षिक ११ लाख ९४ हजार ५७५ रुपियाँ खर्च गरेको पाइएको महालेखाले जनाएको छ। महालेखाले सरकारी सम्पतिको प्रयोग नभएको टिप्पणी गरेको छ।

सो विषयमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धानुकले पालिकाका योजनाबाट रकम काटेर दिने गरेका कारण डोजरको आम्दानीमा उल्लेख नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न सडक योजनामा पालिकाको मेसिन लगाएको तर मेसिनको भाडाबापत योजनामै रकम घटाएर दिएका कारण आम्दानी कम देखिएको हो।”  गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here