कालापानी लिम्पियाधुरा र लिपुलेक हाम्रो भन्ने मैले प्रष्ट राखेको छु : प्रम

28

 

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपालको भूमि बंगलादेश मोडलमा साट्ने प्रस्ताव नगरेको जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कालापानीसँग भूमि साट्ने प्रस्ताव नगरेको जनाएका हुन्।

‘कालापानीबारे मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेको छैन प्रष्ट होस्। मैले नेपालको भूमि नेपालकै हुनुपर्छ भनेको हो। केही बुद्धिजीवीहरूले सीमा समस्या समाधान गर्न बंगलादेशी मोडल अपनाउन सकिन्छ भनेका हुन्। उनीहरूले बंगलादेश जाने बाटो पाउन सके कालापानी साट्न सकिन्छ भनेका हुन्। मैले त सीमा समस्या हल गर्नुको विकल्प नरहेको कुरा राखेको हुँ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको विषयमा आफू स्पष्ट रहेको जनाए । ‘कहीँ कोही कन्फ्युजन नहोस् कालापानी लिम्पियाधुरा र लिपुलेक हाम्रो भन्ने मैले प्रष्ट राखेको छु। पञ्चेश्वर पनि आएको छ, बाढी र डुबान पनि आएको छ। धेरै कुरा समेटिएका छन्। हामीले धेरै हल्ला गर्दा कुरा अड्किन्छ भन्ने भएको छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here