सिंगापुर लैजाने भन्दै करोडौँ ठगी

60

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० मा स्थायी घर भएका सुजन आचार्यले सिंगापुर लैजाने भन्दै करोडौँ ठगी गरेको खुलेको छ ।

विभिन्न १२ जिल्लाका कम्तीमा ३० जनालाई आचार्यले करोडौँ ठगी गरेको पीडितहरूको भनाइ छ । सोमबार पत्रकार सम्मेलन गरेर पीडितहरूले आफूहरूबाट आचार्यले पाँच लाख, १० लाख, २० लाख गरी करिब १० करोड बढी रकम ठगी गरेको बताए ।

अहिले सिंगापुर बस्दै आएका आचार्यसँगै ठगीमा भक्तपुर घर भएकी उनकी प्रेमिका भनिएकी विनु शाक्यसमेत संलग्न रहेको पीडितको दाबी छ । उनी पनि हाल सिंगापुरमै लुकेर बसिरहेको पीडितहरू बताउँछन् ।

आचार्यका सानिमाको छोरा (भाइ) भनिएका झापाको बाह्रदशी गाउँपालिका–६ का २० वर्षे सृजन निरौला पनि यसमा संलग्न रहेको पीडितको भनाइ छ ।

सिंगापुरमा आफ्नै कम्पनीमा आकर्षक तलब सुविधासहित रोजगारी दिने आश्वासन दिँदै उनले ठगी गरेको पीडितहरूले बताएका छन् ।

कुनै बेला आफूलाई नेपालकै कान्छो पत्रकार भएको दाबी गर्ने सुजन आचार्य यसअघि नै पनि ठगी र ब्ल्याकमेलिङजस्ता आरोपमा पक्राउ परी छुटेको खुलेको छ ।

आचार्यले ट्राभल हिस्ट्री बनाउनुपर्ने भन्दै पीडितमध्येका केहीलाई भिजिट भिसामा सिंगापुर बोलाएको समेत उनीहरूले बताएका छन् ।

त्यहाँ रहँदा आचार्यले आफूलाई सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भन्दै नक्कली र फोटोसप गरिएका कागजपत्र देखाएको पीडितहरूले बताएका छन् ।

उनीहरूका अनुसार आचार्यले हस्पिटालिटी बिजनेसमा ठूलै लगानी गर्न लागेको र सिंगापुरको पाँच तारे होटलमा पनि आफ्नो सेयर रहेको भन्दै भ्रम छरेका थिए ।

उनले १० करोड रुपैयाँमा गोरखा, एभरेस्ट र हिमालयनजस्ता नेपाली रेस्टुरेन्ट किन्ने डिल भइसकेकोलगायतका झुटा प्रचारबाजी गर्दै नेपालीहरूलाई विश्वास दिलाएर ठगी गरेको पीडित बताउँछन् ।

पीडितहरूका अनुसार आचार्यले सिंगापुरको बैंकमा आफ्नो पाँच लाख डलर बचत रहेको विवरणसमेत पीडितहरूलाई विश्वास गराउन देखाएका थिए ।

नेपालीहरूलाई ठगेको पैसाले सिंगारपुरमा लक्जरी र मोजमस्ती जीवन बिताइरहेका आचार्यको ठगीको सञ्जाल निकै ठूलो हुन सक्ने र आफूहरू एकअर्काको सम्पर्कमा आएका पीडित मात्रै भएको उनीहरूको भनाइ छ ।

“आचार्यले सिंगापुरमा महिनाको ३ हजार सिंगापुर डलर (२ लाख ९३ हजार नेपाली रुपैयाँ) देखि ४८ सय सिंगापुर डलर (४ लाख ७० हजार रुपैयाँ) सम्म कमाइ हुने भनी २०७९ सालको विभिन्न समयमा हामीसँग प्रतिव्यक्ति पाँच लाख रुपैयादेखि २० लाख रुपैयाँसम्म असुले,” पीडितहरूले विज्ञप्तिमा भनेका छन्, “यसरी ठगिएका हामी १२ भन्दा बढी जिल्लाका छौँ । हामी त एकापसमा सम्पर्क भएकाले यति संख्यामा भयौँ । हामीसँग सम्पर्कमा नभएका अझै २५–३० जना पीडित हुनुहुन्छ । उहाँहरू जाहेरी दिएर बस्नुभएको छ । सबैसँग गरी सुजन आचार्यले कुल १० करोड रुपैयाँ ठगी गरेका छन् ।”

आकर्षक कमाइ हुने लोभमा कतिपय पीडितले जग्गा धितोमा राखेर ऋण निकालेको, कसैले परिवारको गरगहना तथा जग्गा बेचेको ठगी गरेको पीडितहरूको भनाइ छ ।

पैसा बुझाएको एक हप्तामा सिंगापुर उडाइदिने भनेकोमा एक वर्ष भइसक्दा मात्रै कुनै प्रक्रिया अगाडि नबढाएपछि आफूहरूले ठगीमा परेको थाहा पाएको पीडितहरूले बताएका छन् । पीडितमध्ये अधिकांशले विनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा पैसा हालेको बताएका छन् ।

अहिले प्रहरीले तीनजनाकै नाममा पक्राउ पुर्जी जारी गरेको तर आफूहरूले न्याय पाउनेमा आशंका रहेको पीडितहरूको भनाइ छ ।

हेर्नुहोस् विज्ञप्ति

11111685961545.jpg

2221685961545.jpg

33331685961541.jpg

444441685961541.jpg

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here