काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद भवनमा नेपालको भूमि सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताउनुभएको छ ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको स्पष्टिकरण दिनुभएको हो ।
प्रधानमन्त्रीले मिडियामा सो बारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताउनुभयो । उहाँले सो विषयमा भारतसँग अझ बढि अध्ययन र छलफल गर्ने आश्वासन समेत दिनुभयो ।
‘‘पहिलो कुरा संसदको नक्साबारे कुरा भयो । मैले गम्भीर रुपमा नै उठाए । किनकी त्यो धेरे अध्ययन भइसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ । यो के हो नयाँ संसद भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरुले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुको जवाफ थियो । अब यो बारे अझ बढी अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकी नै छ । त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन ।’’
प्रधानमन्त्री प्रचण्डले भारतको नयाँ संसदमा राखिएको नक्सा सांस्कृतिक नक्सा भएको कुरा पनि भारतीय पक्षले राखेको बताउनुभयो ।


















