गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम

47

काठमाडाैं । गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा सर्पदंशबाट अघिल्लाे वर्ष १९ जनाले ज्यान गुमाएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

कतिपय अवस्थामा उचित उपचार नहुँदा शारीरिक अपाङ्गता पनि बेहोर्नुपर्छ । नेपालका २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ । सर्पले टोकेपछि बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र ज्यानै समेत जाने गरेको छ । जुनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइन्छन् र तीमध्ये २० प्रजाति विषालु मानिन्छ ।

सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा र्पुयाए बिरामीको ज्यान जोगिने भेरी अस्पतालका डा. कृष्ण आचार्यले बताउनुभयो । सर्पले टोकेमा सरकारी अस्पतालमा एन्टिस्नेक भेनम निःशुल्क भएपनि भेन्टिलेटर र अरु उपचारका साथै औषधि महँगो पर्ने भएकाले विपन्न व्यक्ति धेरै मारमा पर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयका डाक्टर समिरकुमार अधिकारीका अनुसार सर्पको टोकाईबाट किसान बढी जोखिममा छन् । किसानपछि बालबालिका सर्पको टोकाइमा पर्ने गरेका छन् ।

उहाँका अनुसार विषालु सर्पले टोकेमा स्वादमा भिन्नता हुने, बान्ता हुने, आँखाको परेला उठाउन गाह्रो हुने, स्वरमा परिवर्तन आउने, नाडी छिटो चल्ने, श्वास फेर्न समस्या हुनेलगायतका लक्षण देखिन्छ । यस्तो अवस्थामा बिरामीलाई सबै भन्दा पहिले शान्त पार्ने, शरीरमा कसिएको लुगा वा अरु वस्तु भए हटाउने, टोकेको ठाउँ वरीपरि प्रेसर ब्यान्डेज लगाउनु पर्छ । प्राथमिक उपचारपछि बिरामीलाई छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्र वा अस्पतालमा पुर्याउन डाक्टरको सुझाव छ ।

सर्पले टोकेको घाउलाई नचलाउन, रबर वा डोरीले कडा रुपमा नबाध्न, टोकेको ठाउँमा कुनै चिजले नकाट्न, नचुस्न, कुनै मलम वा रासायनिक कुरा नदल्न तथा धामीझाँक्रीको भर नपर्न पनि डाक्टरको सल्लाह छ । सर्पको टोकाइबाट जोगिन सुत्दा झुल लगाउन, सकेसम्म खाटमा सुत्न, रातमा बाहिर हिड्दा टर्च बालेर हिँड्न, घर वरपर भएका प्वाल पुर्न पनि विपद् व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । त्यस्तै खेतीबालीको काम गर्दा वा घरबाहिर निस्कदा खुट्टा पुरा ढाक्ने बुट, हातमा पञ्जा लगाउँदा पनि सर्पको टोकाईबाट जोगिन सकिने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here