खडेरीले वर्षेबाली सुकेपछि पानी माग्दै इन्द्र र महादेवको पूजापाठ

68

तनहुँ। लामो खडेरीले वर्षेबाली बारीमै सुकेपछि पानी माग्दै तनहुँमा इन्द्र र महादेवको पूजापाठ गरिएको छ । आँबुखैरेनी –२ ढकालटारमा पूजापाठ गरिएको हो ।

स्थानीय तीन सय ५० घरधुरीले पञ्चेबाजा सहित पूजापाठ गरेका हुन् । स्थानीय छिम्केश्वरी देवीको मन्दिरमा हिन्दु विधि अनुसार पूजाअर्चना गर्दै पानीको माग गरेका हुन् । वडा नम्बर २ का वडाध्यक्ष आशबहादुर गुरुङले ‘‘हरहर महादेव पानी देउदेउ भन्दै इन्द्र र महादेवको पूजा गरेको जानकारी दिनुभयो । छ जना पण्डित बोलाएर होम गरी रुद्रीपूजाका साथै पानी माग गर्दै इन्द्र र महादेवको पूजा हालै गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “खडेरीले मकै, अदुवा, हलेदो र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित बन्दै पूजा गरेको र पूजा गरेपछि साँझदेखि हल्का वर्षा हुन थाल्यो ।”

वर्षायामको समय भएपनि लामो खडेरी गर्दा बारीमै सुक्न थालेपछि तनहुँका कृषकहरू किसानहरू चिन्तित बन्न थालेका छन् । जिल्लाको १० वटै पालिकामा गरी १४ हजार हेक्टर मकैबालीमा खडेरीले असर गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । केन्द्र प्रमुख तिवारीले भन्नुभयो, “लामो समयसम्म पानी नपर्दा मकै सुकेर नष्ट हुँदै साना बोटमा कम असर परेपनि ठुलो बोटमा भने उत्पादनमा ६० प्रतिशत घट्ने देखिएको छ ।”

मकै खेती अधिकांशले विशेषगरी सिँचाइ सुविधा नभएको आकाशे पानीको भरमा गरिने भएकोले धेरै कृषक मर्कामा परेको उहाँले जानकारी दिनुभयो । किसानले लगाएको मकै बाली मात्र हैन, व्यावसायिक रूपमा गरेका तरकारी खेतीमा समेत खडेरीले प्रभाव पारेको छ ।

व्यास नगरपालिका –२ निवासी नवराज न्यौपानेले खडेरी मकैको बोट मर्न थालेको जानकारी दिनुभयो । अधिकांश आकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएकाले यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख गरेर उमारेको मकैको बोट, घिरौँला, चिचिण्डा, कर्कका, करेला, लौका लगायतका तरकारी समेत सुकेर काम नलाग्ने भएको न्यौपाने जनाउनुहुन्छ । फलफूल, तरकारी तथा अन्न बालीमा नोक्सान पुगेको र राहत दिनुपर्ने माग स्थानीयले राखेको उहाँ बताउनुहुन्छ । व्यास नगरपालिका–११ पोल्याङ निवासी हरिप्रसाद थापाले खडेरीले खेती नष्ट गरेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भएको जनाउनुभयो । थापाले भन्नुभयो, “खडेरीले बालीनाली लगाउने र फल्ने बेला नष्ट गरेपछि आफूहरूलाई भोकमरी निम्तिने अवस्था आउँछ कि भन्ने चिन्ता भएको सरकारले राहतको व्यवस्था गर्नुपर्ने माग छ । ”

खडेरीले गर्दा अदुवा र हलेदो ३० देखि ४० प्रतिशत मात्रै उम्रिएको र उम्रिएको पनि खडेरीले सुक्न थालेको केन्द्रका प्रमुख तिवारी जनाउनुहुन्छ । तिवारीले भन्नुभयो, “नउम्रिँदा जमिन बाँझैजस्तो देखिन्छ वर्षातको समय भएकोले उम्रिएर हर्लक बढेर गोडमेल गर्ने बेलामा पाखो जग्गामा राम्रोसँग उम्रिन पाएको छैन ।” पाखो बारीमा आकाशेपानीको भरमा यो खेती गरिने भएकोले लामो समयसम्म पानी नपाएर बाली सुकेको छ । जिल्लाको विभिन्न स्थानको अनुगमनपछि फक्रनु भएका केन्द्र प्रमुख तिवारीले भन्नुभयो, “यो खेती आकाशे पानीको भरमा गरिने हो, जिल्लाका अधिकांश क्षेत्रमा लामो खडेरीले गर्दा सुकेर बिउँ नै मर्न लागेको देखियो ।”

अधिकांश भूभागमा उम्रन समेत नपाएपछि कृषकले दुर्दशा भोग्नुपरेको छ । गोडमेल गर्ने समयमा खडेरीले उम्रिन समेत नपाएकोले उत्पादन घटने चिन्ता हुन थालेको व्यास नगरपालिका–१३ बेलबासका कृषक यमबहादुर आलेले जनाउनुभयो । ४८ रोपनी क्षेत्रमा फलमा लगाएको हलेदो पानी नपर्दा उम्रिन नसकेको थोरै मात्रामा उम्रिएका पनि सुकेर पराल जस्तो भएको उहाँले जनाउनुभयो । आलेले भन्नुभयो, “दिनभरको चर्को घामले माटो सुकेर जमिन नै बाँझो जस्तो देखिएको छ ।”

सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले जनाएका छन् । पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको आलेको भनाइ छ । तनहुँमा पाँच सय १७ हेक्टरमा अदुवा खेती र एक सय ७२ हेक्टरमा अदुवा खेती हुने र खडेरी सबै कृषक प्रभावित भएको केन्द्र प्रमुख तिवारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here