नेपाल सधैँ एक चीन नीतिको पक्षमा

29
 

काठमाडौं  । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हु निङबिच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र परामर्शदातृ सम्मेलनका अध्यक्ष हु निङबिच मङ्गलबार ग्रेट हल अफ पिपुल्समा भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको र भविष्यमा पनि नेपाल एक चीन नीतिकै पक्षमा प्रतिबद्ध रहने बताएका छन्। “नेपाली भूमिको दुरुपयोग गरी चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ रूपमा अडिग छौँ,” उनले भने ।

नेपाल र चीनबिच सदियौँदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षमा नेपाल र चीनबिचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको अध्यक्ष तिमिल्सिनाले बताए। परामर्शदातृ सम्मेलनका अध्यक्ष हु निङले नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना रहेको बताए। उनले नेपाल र चीन दुई देशबिच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन दुई देशका राजनीतिक तहमा भ्रमण आदानप्रदान गरिने बताउँदै चीन छिमेकी देशसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार रहेको जनाए ।

त्यसअघि अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबिच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले घनिष्ठ मित्र एवं विकासको साझेदार र असल छिमेकीका रूपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व र प्राथमिकता दिँदै आएको बताउँदै नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताए। पछिल्ला दिनमा नेपाल र चीनको विधायिकी सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले चीन नेपालका पर्यटक स्रोत मुलुकमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई ध्यानमा राखी नेपाललाई चीनले हालै आउट ब्यान्ड टुरिस्ट ग्रुपमा राखेकामा खुसी व्यक्त गरे।

चीनको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण योगदान पु(याउनेमा विश्वस्त रहेको जनाउँदै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो हवाई उडान हुने विश्वास व्यक्त गरेका छन् ।

भेटमा चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लिजीले चीनको छेन्दुबाट पोखरा हवाई उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु–पोखरा सिधा उडान गर्न चीन तयारी अवस्थामा रहेको उनले जनाए । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here